जेठ ०७, २०८१, सोमबार
               

किशोरीको हत्या आशङ्कामा तीन जना पक्राउ

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

उदयपुर । त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ ।

यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

कृशलाको हत्या रहस्यमय रहेको र अनुसन्धान निकै जटिल भएका कारण अहिले प्रहरीले विभिन्न कोणबाट कडाइका साथ अनुसन्धान सुरु गरेको छ ।

कृशला हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन् ।

खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको विभत्स अवस्थामा शव फेला परेको हो । जङ्गलमा घाँसदाउरा गर्न गएका बेला केही समूहले जबर्जस्ती करणी गरेर उनको विभत्स ढङ्गले हत्या गरेको हुनसक्ने मोहनपुरका स्थानीयवासी खगेन्द्र कटुवाल बताए ।

प्रहरीका अनुसार कृशलाको शवको यौनाङ्ग क्षतविक्षत भएर डढेको, शरीरका धेरै भाग डढेर कालो भएको, दाँत भाँच्चिएको चिन्न नसक्ने अवस्थामा भेटिएको थियो ।

हत्याका विषयमा अहिले प्रहरीले गम्भीर ढङ्गबाट अनुसन्धान सुरु गरेका कारण केही समयभित्रै सत्यतथ्य बाहिर ल्याउन लागेको उदयपुर प्रहरीले बताएको छ ।

अहिलेसम्म अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको र आवश्यकतानुसार अन्य सबैको अनुसन्धान हुँदै जाने पनि प्रहरीले बताएको छ ।

कृशलाको हत्या विषयमा तथ्य कुरा र हत्यारा पत्ता लगाउन शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न अरु चाँडै पक्राउ पर्ने र केही व्यक्तिलाई अनुसन्धान दायरामा ल्याइएका कारण हत्यारालाई पत्ता लगाएर कारवाही गरिछाड्ने उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले प्रतिबद्धता गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि