ऊर्जामन्त्री फम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणलाई ट्रंकलाइन र डेडिकेटेड बापत उठ्नु पर्ने १५ अर्ब रुपैयाँ उठाउन निर्देशन दिएकी छन्।
आइतबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले प्राधिकरण व्यवस्थापन पूर्णरुपमा असफल भएकोसमेत बताएकी छन्। उनले पछिल्लो समय प्राधिकरणको व्यवस्थापन एकदमै कमजोर बन्दै गएको भन्दै आफूले व्यवस्थापन मजबुद बनाउन नयाँ कमद चाल्ने बताएकी छन्।
मन्त्री भुसालले यसरी प्राधिकरणको व्यवस्थापनसँग असन्तुष्ट व्यक्त गर्नु भनेको पुनः प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने संकेत गरेको देखिन्छ । उनले कार्यक्रममा बोल्दै भनिन्,‘मैले बाहिरबाट प्राधिकरणका गतितिविधि बझिरहेकी छु। यस्तो खाल्को गतिविधिले गर्दा प्राधिकरण पूर्णरुपमा असफल भएको देखिन्छ। छिट्टै नयाँ कदम चाल्नेछु,।’
मन्त्री भुसालले प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न नसक्दा १७ प्रतिशत पुगेको बताइन्। त्यस्तै उनले नाफासमेत ५ अर्बमा मात्रै सीमित भएको र बढाउन नसकेको, लोडसेडिङ हटेपनि झ्यापझ्याप विजुली काटिने समस्या समाधान नभएको र प्राविधिक र प्रशासनिक कमजोरी बढी देखिएको भन्दै प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरिन्।
त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले कोरोना महामारीका कारण विद्युत् चुहावट नियन्त्रण गर्न नसकिएको बताएका थिए। उनले सरकारले विभिन्न उद्योगी व्यवसायलाई विद्युतमा छुट दिएको र सोको शोधभर्ना वापतको ३ अर्ब र ट्रंकलाइन र डेडिकेटेडको १८ अर्ब रुपैयाँ बढी नउठ्दा नाफा नबढेको बताएका थिए।