जेठ ०७, २०८१, सोमबार
               

बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।

गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो ।

गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए ।

दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् ।

विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो ।

५४ लाख रुपैयाँको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।

त्यसपछि बर्सेनि बर्खाको समयमा बाढी र पहिरोले पाइप लाइनलाई क्षति पुर्याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत कार्य अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका एक हजार २०० भन्दा बढी जनता प्रत्यक्षरुपमा प्रभावित भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि