जेठ ०४, २०८१, शुक्रबार
               

विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

काठमाडौं । परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको भन्दै मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ ।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए । उपकुलपति सिंहले भने, ‘आर्थिक प्रलोभनमा परी अक्षम्य शैक्षिक अपराध गरेकाले सेवाबाट बर्खास्त गरेको हुँ ।’

विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फको नम्बर लुकाएर यादवले आफैंले मनलाग्दी रुपमा नम्बर दिएको उजुरी विद्यार्थीहरुबाट परेको थियो । त्यस विषयमा छानबिन गर्न दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले अपराध भएको ठहर गर्दै विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । ‘छानबिन समिति बनाएर, सफाइको मौका दिएर बर्खास्तको निर्णय गरिएको छ,’ उपकुलपति सिंहले भने ।

मध्यपश्चिम विश्वविद्यालयमा मास्टर्स इन इन्जिनियरिङमा कन्सट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ गरी दुई विषय पढाइ हुने गर्दछ । स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम परीक्षाको प्रयोगात्मकमा आफूखुसी नम्बर दिएको पाइएको हो । प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । सो परीक्षामा १३ जना विद्यार्थीहरुलाई ४० मा ४० नम्बर दिएको पाइएको छ । यसैगरी, कन्सट्रक्सन इन्जिनियरिङका विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिइएको छ ।

परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंह बताउँछन् । उनले भने, ‘मबाट गल्ती भयो, माफ पाउँ भनेका छन्, तर मैले माफ दिन सक्दिनँ । विश्वविद्यालय सुधार गर्ने कसम खाएको हुँ, सुधार गरेरै छाड्छु ।’

उपकुलपति प्रा. डा. सिंहले यस विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि दिए ।

यो पनि