जेठ ०४, २०८१, शुक्रबार
               

रोकिएनन् बिहे भोज, गाउँभरि सङ्क्रमित

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

बागलुङ । जिल्लाभर निशेधाज्ञा जारी भएको भए पनि लगनको महिना भएकाले विवाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांस्कृतिक कार्यहरु रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांस्कृतिक कार्यहरूमा सहभागी हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँहरूमा यस्ता कार्य पूर्ववत् रुपमा चलिरहेका छन् । 

बागलुङ जिल्ला सदरमुकाममै केही दिनअघि विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यति धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागी भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउछन् ।

गाउँभरि नै ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यसअघि जिल्लाको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो । ‘‘सात जनाभन्दा बढी जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ’’, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भने ।‘‘कसैले नियम मिचे प्रशासनलाई खबर गरौं ।’’ 

बागलुङमा आजसम्म ३४० जना सक्रिय सङ्क्रमित छन् । खनालका अनुसार दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं. १४ नारायणस्थान सक्रिय सङ्क्रमित मुक्त भएको छ । त्यस्तै वडा नं. ११ रायडाँडा, वडा नं. ५ मालिका र वडा नं. ८ सिगानामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।


कस्तो लाग्यो ?

यो पनि