बैशाख २३, २०८१, आइतबार
               

सुदूरपश्चिम मन्त्रिपरिषद् अवैधानिक भन्ने रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्लाई वैधानिकता नदिन माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्को वैधानिकतामा प्रश्न उठाउँदै दायर रिटमा अन्तरिम आदेश जारी नगरेको हो ।

योसँगै प्रदेश मन्त्रिपरिषद्माथि उठाइएको वैधानिकताको विषय तत्कालका लागि किनारा  लागेको छ । “नेपालको संविधान धारा १६८ (९) को व्याख्याको विषय सन्निहित रहेकाले अहिले नै सो सम्बन्धमा विस्तृत व्याख्या गरी अन्तरिम आदेश जारी गर्न मिलेन ।”

नेपालको संविधानको धारा १६८ को उपधारा ९ मा भनिएको छ, “मुख्यमन्त्रीसहित प्रदेशसभाको कूल २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्ने” भन्ने व्यवस्थाको रहेको छ ।

आदेशमा विषयवस्तुको गाम्भीर्य हेर्दा शीघ्र निरूपण गर्नुपर्ने भएकाले विपक्षीको लिखित जवाफ परेको मितिले सात दिनभित्र पूर्ण सुनुवाइका लागि नियमानुसार पेस गर्न भनिएको छ ।

यसअघि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि लिखित जवाफ माग गर्ने आदेश जारी गरेको थियो ।

अधिवक्ता कमलसिंह राना र अपेक्षा निरौलाले सुदूरपश्चिमको मन्त्रिमण्डल संविधानको धारा १६८ ले तोकेको मापदण्डभन्दा धेरै भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

हाल सुदूरपश्चिममा छ मन्त्रालयमा ११ मन्त्री बनाएकाको हुँदा सो निर्णय बदर गर्न माग गरी रिट निवेदन दिइएको थियो ।सो प्रदेशमा गत जेठ १४ गते चार मन्त्री र चार राज्यमन्त्री थपेर कूल ११ जनाको मन्त्रिमण्डल बनाइएको थियो ।

एक मुख्यमन्त्री, छ मन्त्री र चार राज्यमन्त्री गरी कुल ११ जनाको मन्त्रिमण्डल बनाउने कार्य संवैधानिक व्यवस्थाविपरीत भएको निवेदनमा छ ।
 


कस्तो लाग्यो ?

यो पनि