बैशाख २०, २०८१, बिहीबार
               

हिन्दु स्वयंसेवक संघद्वारा देशैभर सेवामुलक काम जारी

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोनाको महामारी र बाढीपहिरोको पीडामा परेका नागरिकका लागि हिन्दु स्वयंसेवक संघ नेपालले देशका विभिन्न जिल्लामा सेवामुलक काम जारी राखेको छ ।

संघ नेपाल कास्कीले पोखरा महानगरपालिका १९ लामाचौरका २३ परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । त्यहाँका गरिव तथा विपन्न परिवारका मानिस निषेधाज्ञाका कारण सहज अवस्थामा रहेका थिए ।

हिन्दु स्वयंसेवक संघका अगुवाहरू कास्कीमा खाद्यान्न सहयोग गर्दै

त्यस्तै संघ, अग्रवाल सेवा केन्द्र र सेवा इन्टरनेसनल नेपालद्वारा रसुवाको गोसाईंकुण्ड गाउँपालिकाका प्रतिनिधिलाई कोभिड-१९ संक्रमणमा उपचारमा उपयोगी हुने सामग्री हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको सामग्रीमा एन्टिबायोटिक, भिटामिन सी, भिटामिन डी, पासासिटामोलसहितको १२० थान औषधि तथा किट रहेको छ ।

रसुवामा स्वास्थ्य सामग्रीतथा उपकरण हस्तान्तरण गरिँदै

सिन्धुपाल्चोकको मेलम्चीमा गएको भीषण बाढीका कारण विस्थापित नागरिकका लागि पनि संघले राहत सामग्री वितरण गरेको छ । हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघचालक कल्याणकुमार तिमल्सिनाको नेतृत्वमा संघको केन्द्रीय कार्यालय काठमाडौंको गौरीघाटस्थित केशवधामबाट राहत सामग्रीसहित संघको स्वयंसेवकहरूको एउटा टोली हेलम्बुतर्फ गएको थियो ।

सिन्धुपाल्चोकको मेलम्चीतर्फ राहत सामग्री पठाउँदै संघका अगुवाहरू

मेलम्चीमा कम्बल, त्रिपाल, ग्यास चुल्हो, चामल-दाल-तेलसहित खाद्यान्न, थर्मस, थाली, गिलासलगायतको सामग्री पठाइएको संघले जनाएको छ । ती सामग्री संघसहित सेवा इन्टरनेसनल नेपाल, विश्व हिन्दु परिषद् नेपाल, एकल अभियान, लायन्स क्लब काठमाडौँ समर्पण, माहेश्वर समाजलगायतको संयुक्त प्रयासमा हेलम्बु पठाइएको थियो ।

सह संघचालक तिम्सिनाले ‘अविरल वर्षासँगै मेलम्चीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका ६ सयभन्दा बढी परिवार घरबारविहीन भए पहिलो खेपमा अत्यावश्यक सामग्री हेलम्बु पुगेर वितरण गरिएको जानकारी दिए ।

उता, सेवा इन्टरनेसनल नेपालले ललितपुरमा औषधि हस्तान्तरण गरेको छ ।

संघका राष्ट्रिय सह संघचालक कल्याण तिमल्सिनाले ललितपुर जिल्लाको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन एवं जनस्वास्थ्य निरीक्षक नवराज तिमल्सिनालाई एक सय प्याकेट औषधि तथा रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक हर्बल हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा औषधि उपलब्ध गराउनेहरूलाई उनले आभार व्यक्त गरेका थिए ।

त्यसैगरी हिन्दु स्वयंसेवक संघ नेपालले काभ्रेको नमोबुद्ध नगरपालिका वडा ४ र ५ मा औषधि तथा किट वितरण गरेको छ । सम्बन्धित वडाका अध्यक्ष एवं स्वास्थ्य चौकी प्रमुखलाई दुई सय ५० प्याकेट औषधि संघ नेपालका सह राष्ट्रिय प्रचारक रेवित कुमार, महेश्वरी समाज नेपालका अध्यक्ष अनिल राठी र संरक्षक रमेश तापडियाले हस्तान्तरण गरेका हुन् ।  

औषधि हस्तान्तरण गर्दै हिन्दु स्वयंसेवक संघ नेपालका सह राष्ट्रिय प्रचारक रेवित कुमारलगायतका अगुवाहरू ।

यस्तै संघ र सेवा इन्टरनेसनलद्वारा रामेछापको मन्थली नगरपालिका १ र ७ मा औषधि तथा किट वितरण गरेको छ । खाँडादेवी गाउँपालिका वडा ४ मा पनि वडा अध्यक्ष एवं स्वास्थ्य चौकी प्रमुखलाई २०५ प्याकेट औषधि हस्तान्तरण गरिएको छ । 

उता कपिलवस्तुमा भने संघ र सेवा इन्टरनेसनलको प्रयासमा त्यहाँस्थित महाराजगन्जका एक सय परिवारलाई खाद्यान्त उपलब्ध गराएको संघले जनाएको छ ।
कपिलवस्तुमा खाद्य सामग्री हस्तान्तरण गरिँदै ।

हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाश एवं जनजाति कल्याण आश्रम नेपाल बागमती प्रदेश समितिका अध्यक्ष प्रमोद चौधरीले धादिङको रूबीभ्याली गाउँपालिकाका लागि अत्यावश्यक किट उपलब्ध गराएका छन् । सिङ्ला पर्यटन विकास समाजका प्रतिनिधि दिनेश तामाङमार्फत पाँच सय थान अत्यावश्यक औषधि तथा किट हस्तान्तरण गरिएको हो । ती सामग्री सेवा इन्टरनेसनल नेपाल एवं जनजाति कल्याण आश्रमले उपलब्ध गराएको हो ।

धादिङको रुबीभ्यालीका लागि किट हस्तान्तरण गरिँदै ।


कस्तो लाग्यो ?

यो पनि