बैशाख १३, २०८१, बिहीबार
               

नेपाली सेनाको खोज तथा राहत जारी, मेलम्चीमा २९ र मनाङमा ८१ जनाको उद्धार

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण जारी राखेको जनाएको छ ।

सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल/त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ ।

मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका– १ स्थित याङ्ग्रीका बाढीपहिरो प्रभावित २९ जनालाई सेनाको सहयोगमा मेलम्चीबाट उद्धार गरी काठमाडौंँ ल्याइएको थियो ।

सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका – ४ स्थित गल्थुम र माझीटारका बाढीबाट विस्थापित परिवारलाई बस्नका लागि सेनाले दुई स्थानमा सातसात अस्थायी बासस्थानको व्यवस्थापन गरेको छ ।

बाढीपहिराको कारण विस्थापित हेलम्बु – २ गणेशबगर इलाकामा बसोबास गर्दै आएका ४३ र सुरक्षा गुल्म मेलम्ची वरपर बसोबास गर्दै आएका ६० समेत १०३ जनालाई सेनाको उद्धार टोलीले खाली जमिनमा अस्थायी बासस्थानको व्यवस्था गरी राहत सामग्री वितरण गर्न सहयोग गरेको जनाइएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका – ४ स्याङ गाउँ बस्तीमा स्याङ खोलाको बहाव बढ्न गई पस्न सक्ने देखेपछि सेनाले खोला किनारमा ग्याबिन जालीमा ढुङ्गा भरी क्षति हुनबाट रोकेको थियो ।

यस्तै प्युठानको मल्लरानी गाउँपालिका– ३ धरमपानीस्थित वरबोटका हीराबहादुर विक छापेखोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकामा सेनाको खोजी टोलीले सरुमारानी गाउँपालिका– १ बाङ्गेसालको मियाबस्तीनजिक राप्ती नदीमा शव फेला पारिएको सेनाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि