जेठ ०६, २०८१, आइतबार
               

अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामी घटे

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । कोभिड-१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् ।

संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमण ओरोला लाग्दा पनि यसअघि अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप भने यथावत नै रहेको थियो ।


जेठ २२ देखि २८ गतेसम्मको सात दिनको अवधि मूल्यांकन गर्दा आईसीयूमा सबैभन्दा बढी १४५१ जना संक्रमित उपचाररत देखिन्छ भने भेन्टिलेटरमा ३९७ जना उपचाररत छन् । सो साताको अन्तिम दिन जेठ २८ गते आईसीयूमा ११८९ र ३६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

जेठ २९ गते आईसीयूमा १२०६ जना संक्रमित उपचाररत रहेकोमा असार ४ गते यो संख्या घटेर ८७२ मा आइपुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जेठ २९ गते भेन्टिलेटरमा ३७३ संक्रमित उपचाररत छँदा जेठ ४ गते २४६ जना मात्रै उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकलाई हेर्दा कोरोना संक्रमण केही प्रतिशत घटेको देखिन्छ । जेठ २२ गते झण्डै ३० प्रतिशत कोरोना संक्रमण रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको देखिन्छ । जेठ २९ गते २३ प्रतिशत संक्रमण दर रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि तुलनात्मक रुपमा आईसीयू र भेन्टिलेटरमा उपचार गराउन आउने संक्रमितको चाप घटेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए ।

पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम भने अझै कायम नै रहेको जनस्वास्थ्य विद्हरु बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि