जेठ ०५, २०८१, शनिबार
               

मेलम्ची विनाशको मुख्य कारण – खोला थुनिएकाले एक्कासि बाढी गयो
भूकम्पले कमजोर भएको पहाड खसेको विज्ञको अनुमान

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

मेलम्ची नदीले यस वर्षको सुरुवातमै ठूलो क्षति पुर्‍यायो । मेलम्चीमा बाढीपहिरोका कारण सय घर डुबानमा परे । तीन जनाको शव भेटिएको छ । अझै केही बेपत्ता छन् । दुई वटा पक्की र ५ वटा झोलुङ्गो पुल बगायो । मङ्गलवार साँझको त्यो बाढीका कारण सयौँ परिवार बिचल्लीमा परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची बजारमा अकल्पनीय धनधनको क्षति पुर्‍याउने बाढी पहिरो आउनुमा अत्यधिक वर्षा मात्र कारण नभएको विज्ञहरूको निष्कर्ष छ ।

धेरैले यसलाई अविरल वर्षाकै परिणाम ठानेका छन् । तर, जानकारहरू भने अधिक वर्षालाई मात्रै मेलम्ची विनाशको कारण मान्दैनन् । पहिरोले खोला थुनिएकाले एक्कासि बाढी आएको विज्ञहरूले बताएका छन् । केन्द्रका अधिकारीहरू खोला केही समय थुनिएकै कारण एक्कासि बाढी गएको हुनसक्ने बताउँछन् ।

मेलम्ची विनाशमा २०७२ सालको भूकम्प कारक रहेको पनि विज्ञहरूको भनाइ  छ । स्याटेलाइट तस्बिरको ग्राफमा मेलम्ची खोलाको शीरमा भारी वर्षाको कारण पहिरो जाँदा ४५ मिनेट जति खोला थुनिएर ताल बनेको र एक्कासि फुट्दा बाढी आएको देखिन्छ ।

स्याटेलाइट तस्बिरहरू अध्ययन गर्दा मेलम्ची घ्याङदेखि उत्तरमा भूकम्पकै कारण गएको चारभन्दा बढी पहिरो सक्रिय भएको र ठूलो हुँदै गएको भूगोलका प्राध्यापक नरेन्द्रराज खनाल बताउँछन् । उनी भन्छन् ‘पाँच वटा जति साना हिमताल पनि देखिन्छन् । अहिले ती ताल फुटेको र अधिक वर्षा भएको पनि देखिँदैन । पहिरो गएर खोला थुन्दै–खुल्दै हुँदा विनाशकारी बाढीको रूप लिएको देखिन्छ।’ 

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार मङ्गलवार मेलम्ची ना कोटे जलमापन केन्द्रमा करिब साँझ ६ बजेको जल सतह ४.७ मिटरबाट घटेर ३ मिटर पुगेको थियो । साँझ पौने ७ बजेदेखि ७ बजे अकस्मात् जल सतह बढेर ६ मिटर मापन भयो । ६ बजेदेखि करिब ४५ मिनेटसम्म खोला थुनिएको जानकारहरूको अनुमान छ । 

पहिरो गएको ठाउँबाट मेलम्ची बजार करिब ३० किलोमिटर तल पर्दछ । खनाल मेलम्ची बजारमा धेरै नोक्सानी हुनुमा इन्द्रावती र मेलम्ची खोलाको बहाव कारक रहेको बताउँछन् ।

इन्द्रावती उत्तरपूर्व र मेलम्ची उत्तरपश्चिबाट आएर मेलम्ची बजारभन्दा माथि मिल्दछन् । ‘यसरी मिल्नाले दोभानबाट तल बग्दा नदीको छाल र धार परिवर्तन भएर बस्तीमा बाढी पसेको जस्तो देखिन्छ’ स्थानीय भन्छन् । 


कस्तो लाग्यो ?

यो पनि