नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडाका १०८ मन्दिरमा एकैसाथ दीप प्रज्वलन गरेको हो ।
कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस भक्तपुरका क्षेत्रीय सभापति जीवन खत्रीले बताए । “पूजाअर्चना र दीप प्रज्वलनले कोरोना सङ्क्रमण भई उपचार गराइरहेका आम नेपालीमा आत्मबल र शक्ति प्राप्त गर्ने विश्वासका साथ मन्दिरमा दीप प्रज्वलन गरिएको हो”, उनले भने ।
कार्यक्रममा सहभागीबीच भौतिक तथा सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं २ का सभापति नारायण खायमलीले बताए । कार्यक्रममा स्थानीय वडा कमिटी र भ्रातृसङ्गठनका पदाधिकारी र कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकको सहभागिता थियो ।