असोज ०६, २०८१, आइतबार
               

चितवनमा कोरोना सङ्क्रमित घट्दो क्रममा

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको  छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या क्रमशः २ सय हुँदै ४०६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । उनका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित बढ्दै गएको हो ।

कार्यालयको तथ्याङ्क अनुसार वैशाख २४ गते ४ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । वैशाख  ३० गते ७७३ को  परीक्षण गर्दा ३५१ जनामा सङ्क्रमण देखियो । अहिले यो घट्दै आएको उनले बताए । वैशाख ३१ गते देखि विस्तारै सङक्रमित घट्दै गएका छन् । वैशाख ३१ गते २ सय ३० मा रहेको  सङ्ख्या विस्तारै घट्दै जेठ ६ सम्म आइपुग्दा दैनिक १५० हाराहारीमा पुग्यो । उनले भने, “अहिले सङ्क्रमित सयदेखि डेढसय हाराहारी छ ।”

वैशाख २८ देखि जिल्लामा एण्टीजिनको प्रयोगमार्फत कोरोना सङ्क्रमित छुट्याउन थालिएको छ । सोमार्फत जिल्लामा हालसम्म एक हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दोस्रो चरणको सङ्क्रमणका कारण वैशाख १८ देखि यता ५ हजार ३८१ जना सङ्क्रमित भइसकेका छन् । जिल्लामा हाल सम्म १३ हजार ३६३ जना सङ्क्रमित भइसकेका छन् जसमध्ये ४ हजार ८८५ जना सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये १५८ अस्पतालको आइसोलेसनमा छन् भने ४ हजार ६८५ जना होम आइसोलेसनमा र १५ जना सार्वजनिक आइसोलेसनमा छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण २१४ जनाको मृत्यु भएको छ ।

कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार सुरुआतमा परिक्षण गरिएका मध्ये ५० प्रतिशत सङ्क्रमित आउने गरेकोमा अहिले  एक साता देखि २० देखि २५ प्रतिशतमा घटेको छ । नयाँ आउने घटेको भएपनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी भएकाले अझै जोखिम कम नभएको बताए । सक्रिय सङ्क्रमित १ हजारभन्दा कम नभएसम्म जिल्लामा जोखिम कम नहुने उनले जानकारी दिए ।

जनताले स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना कहर जित्न सकिने उनको बुझाइ छ । कोरोना कहरका कारण जिल्लामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण शहरी क्षेत्रमा कोरोना सङ्क्रमण धेरै देखिएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि