असोज ०६, २०८१, आइतबार
               

नागढुङ्गा सुरुङमार्गका ३२ कामदार कोरोना सङ्क्रमित

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ ।”

नेपालमा दोस्रो भेरियन्टसहितको सङ्क्रमण शुरु भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकामा तीन साता पहिले निषेधाज्ञा लागू गरेको थियो । निषेधाज्ञामा पनि क्याम्पमा बसेर गर्न सकिने विकास निर्माणलाई निरन्तरता दिइने सरकारको निर्णयका आधारमा सो सुरुङमार्गको निर्माण सामान्य अवस्थामा जसरी नै पुनः सञ्चालन थियो ।

देशभर सङ्क्रमण फैलिरहेकाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माण अघि बढाउँदै आइएको आयोजनाले जनाएको छ । आयोजनाले क्याम्पभित्र कुनै व्यक्तिमा सङ्क्रमण देखिइहालेमा तुरुन्त अरूबाट छुट्टाएर राखिने व्यवस्था मिलाएको छ । उनले भने, “सङ्क्रमित भएका व्यक्तिको स्वास्थ्यमा समस्या आइहालेमा अस्पताल लगिनेछ ।”

क्याम्पभित्र सङ्क्रमित देखिएसँगै यहाँ कार्यरत कामदार निर्माणस्थल छाड्न थालेको आयोजनाले जनाएको छ । अघिल्लो सातासम्म ६०० भन्दा बढी कार्यरत रहेकामा अहिले यहाँ ३०० छन् । झण्डै आधा कामदार निर्माणस्थल छाडिसकेको प्रमुख शाक्यले बताए । तत्काल भएकै कामदारबाट निर्माणलाई निरन्तरता दिइने उनले बताए । 

निर्माणस्थलमा सङ्क्रमण नियन्त्रण गर्न सकियो भने यही रूपमा काम अघि बढाइने आयोजनाले जनाएको छ । अझै फैलिएर गयो भने निर्माणस्थल बन्द गरिने प्रमुख शाक्यले बताए। अहिलेसम्म निर्माणस्थलभित्र व्यवस्थापन गर्न सकिने अवस्था भएकाले काम भइरहेको उनले बताए । अबको केही समयसम्म कम सङ्ख्यामा कामदार राखेर काम गरिनेछ । यो समयमा ‘पर्ख र हेर’ गरेर त्यसपछि अवस्था हेरेर अघि बढिने उनले बताए । काम प्रगतिका नाममा स्वास्थ्य सुरक्षासँग चुनौती नगरिने उनको भनाइ छ । उनले भने, “अझै धेरै सङ्ख्यामा सङ्क्रमित हुँदा काम गर्न रोकिनेछ ।” 

अहिले आयोजनाले कुनै पनि व्यक्तिलाई सङ्क्रमणको शङ्का लाग्नासाथ कोभिड जाँच गराउने गरेको छ । सुपरिवेक्षण गर्नेलाई भित्रै बस्ने व्यवस्था मिलाइएको प्रमुख शाक्यले बताए । आवश्यक सङ्ख्यामा जनशक्ति भित्रै रहेकाले सचेत भएर काम गरिरहेको उनले बताए । कामदारको मनमा त्रास भएकै कारण आधाले काम छाडेर फर्किसकेका छन् । पछिल्लो अवस्थामा जतिसक्दो काम अघि बढाएर आठ–१० दिन पछि निर्माणस्थलको अवस्था हेरेर निर्णय गरिने उनले बताए । 

सङ्क्रमणकै कारण अहिले आयोजनाको पूर्वतर्फ अवरोध पुगेको आयोजनाले जनाएको छ । सुरुङमार्गमा काम भने भइरहेको छ । मुख्य सुरुङमा अहिले पनि दुई चरणमा गरी चौबिसै घण्टा काम भइरहेको प्रमुख शाक्यले बताए । 


कस्तो लाग्यो ?

यो पनि