१७ वर्षीय सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघुका शेर्पाले आज बिहान ८ बजेर ५० मिनेटमा सगरमाथाको आरोहण गरेका हुन् ।
उनी आरोहणका लागि गएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसनका अनुसार सोनाम आफ्ना बाबु पूर्णकुमार (पिके) शेर्पासँगै आरोहणका लागि गएका थिए। सगरमाथाको आरोहणमा बाबु छोरा दुवै जनाले सफलता पाएका छन्।
केहिदिन अघि नै आरोहणका लागि सगरमाथा बेस क्याम्पमा पुगेका उनीहरु खराब मौसमका कारण रोकिएका थिए । आज मौसम खुलेसँगै सफल आरोहण गरेका हुन्।
सगरमाथा आरोहण तयारीका लागि सोनाम एक महिनाअघि नै बेस क्याम्प पुगेका थिए भने बुबा पूर्णकुमार अनुमतिपत्र लिएर वैशाख २४ गते त्यसतर्फ गएका हुन्।
उनी हालसम्मकै सबैभन्दा कान्छो आरोही हुनसक्ने पर्यटन विभागले जनाएको छ । तर यसको पुष्टि भने भएको छैन । यसअघिका सबैको कागजात हेरेर मात्रै पुष्टि हुन सक्ने बोर्डले जनाएको छ।