बैशाख १४, २०८१, शुक्रबार
               

बेनी अस्पतालमा अक्सिजन बैंक

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताए ।

“विभिन्न सङ्घसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर सङ्कलन गरेर एकद्वार प्रणालीबाट कोरोना सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको हो”, उनले भने, “अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर सङ्कलन भइरहेको छ ।” जिल्ला प्रहरी कार्यालयले बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । आठवटा पसल, ग्यारेज तथा उद्योगमा रहेका १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर सङ्कलन गरेर हस्तान्तरण गरिएको प्रनाउ राईले बताए । 

म्याग्दीमा पनि अक्सिजन अभावको अवस्था आउन नदिन अक्सिजन सिलिण्डर सङ्कलन र भरेर राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । 

एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख खर्च भएको छ । सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो । सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख र अस्पतालको एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याइएको हाे ।


कस्तो लाग्यो ?

यो पनि