चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्वारा मारिएका कर्मचारीको नामबाट राखिएको छ ।
११ दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार ‘शेषचन्द्र गज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिँडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए ।
उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झनामा छावाको नाम राखिएको बरालले जानकारी दिए । चौधरीको स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी वनाउने योजना रहेको बरालले जानकारी दिए ।