मंसिर ०७, २०८१, शुक्रबार
               

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवलाई आज बिहान राजीनामा बुझाएका हुन् । 

मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका लागि बाटो खुल्ला भएकाे छ ।  माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । वैशाख ६ मा उनीविरुद्ध कांग्रेस माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए ।

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांसद संख्या पनि ४१ नै हो । मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिन ४१ मत आवश्यक पर्छ जुन एमालेको छ । तर, दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई फ्लोर क्रस हुनबाट कसरी रोक्ने भन्ने एमालेमा चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिएका बुझिएकाे छ । 

उनी संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका  थिए । पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए ।


कस्तो लाग्यो ?

यो पनि