छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाकाे मृत्यु भएकाे छ । सप्तरीको सुरुङ्गा नगरपालिकामा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका–१ बस्ने भगाई सदाईका १६ वर्षीय छोरा रामु सदा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार बेलुका घरमै मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ । सो क्रममा बायाँ हातको औँलामा करेन्ट लागेका उनको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधारीको करेन्ट लागेर मृत्यु भएको हो ।
कमलामाई नगरपालिका–८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
काम गर्ने क्रममा करेन्ट लाग्दा विशाललाई करेन्टले विद्युतको तारमा नै झुन्डाएको थियो । हाइटेन्सन लाइनको काम गर्ने कामदार रहेका विशालको घटनास्थलमा नै मृत्यु भएको हाे । यस्तै उनीसँगै काम गर्दै आएका सोही ठाउँ ठेगाना भएका अन्दाजी २४ वर्षीय मायाराम चौधरीलाई पनि करेन्ट लागेको छ । मायारामको अवस्था सामान्य नै रहेको छ ।