कोरोना संक्रमित थप हुन थालेपछि देशका विभिन्न १५ सहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनाभाइरसको जोखिम बढेको निष्कर्ष निकाल्दै त्यसबाट जोगिन वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
सीसीएमसीले विद्यालय बन्द गर्नुपर्ने शहरहरूको विषयमा पनि छलफल गरेको छ। काठमाडौं उपत्यकासहित १५ शहरका विद्यालय बन्द गर्नुपर्ने निष्कर्ष निकालेको हो। यसअघि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई अतिप्रभावितको सूचिमा राखेको थियो ।
पछिल्लाे समय बालबालिका बढी जोखिममा रहेकाे तथ्यांकले देखाएकाे छ । आज मात्र नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ जनामा संक्रमण देखिएकाे छ ।