सिन्धुपाल्चोक । शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिए ।
उनको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको आज जिल्ला स्वास्थ कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्वाब सङ्कलन गरी लगेको छ । त्यसको रिपोर्ट आइतबारसम्म आइपुग्ने बताइएको छ । सङ्क्रमित शिक्षक अहिले काठमाडौंमा होमक्वारेन्टिनमा रहेको शिक्षक ताराबहादुर श्रेष्ठले बताए ।