सिरहा । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका-२३ गाढिया चोकमा सुनचाँदी पसल सञ्चालन गरी बस्ने सोही नगरपालिका-२२ सिसवनीका ४५ वर्षीय प्रदिप मिझारको आइतबार बिहान मृत्यु भएको छ ।
अपरिचित ६/७ जनाको समूहले सुनचाँदी पसल गरी बसेको घरको ढोका फलामको हम्मर र छिनोले फोडी चोरी तथा लुटपाट गर्न लाग्दा उक्त समूहसँग प्रतिकार गर्दा उनीहरूले प्रदिपलाई गोली प्रहार गरी हत्या गरेकाे अभियोगमा छ ।
साथै उनकी श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई खुकुरी प्रहार गरी घरभित्र रहेको ३ तोला सुन, ७ केजी चाँदी, महिलाले खुट्टामा लगाउने दुई जोर ६० तोला चाँदीको काडा र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले घटनामा संलग्न लहान नगरपालिका-७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाट भाग्दै गरेको अवस्थामा १ थान फलामको छिनोसहित र सोही नगरपालिका-२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई समेत पक्राउ गरेको छ ।
घटनामा गम्भीर घाइते भएका प्रदिपको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै घाइते अनिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा समेतबाट खटिएको प्रहरीले घटना संलग्न हाल फरार अन्य व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।