जेठ ०६, २०८१, आइतबार
               

चालू वर्षको आठ महिनामा गम्भीर आपराधिक घटना बढे

रासस
चैत २८, २०७७

ADVERTISEMENT

मुलुकमा पछिल्लो आठ महिनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरणले सो कुरा पुष्टि गरेको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको बताए । 

उनका अनुसार विष्लेषण गर्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्यालगायत गम्भीर प्रकृतिका घटना सङ्ख्या बढेको हो । कुँवरले समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको आठ महिनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रतिशतले कमि आएको जानकारी दिए । सो अवधिमा चोरी, बैंकिङ कसुर, ठगीजस्ता आर्थिक अपराधका घटना कम छन् ।

चालू आवको फागुनसम्म मुलुकभर प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका आपराधिक घटना २६ हजार ३०६ घटना दर्ता भएको छ । जुन प्रतिदिन झन्डै ११० वटा घटना भएको देखिन्छ । यो गत वर्षको तुलनामा १६ दशमलव १६ प्रतिशतले कमी हो । आठ महिनामा गत वर्षभन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भई कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४४७ घटना दर्ता भएको प्रहरीले जनाएको छ । 

सो अवधिमा चार हजार ४८३ आत्महत्याका घटना भएका छन् । आव २०७६÷७७ को सोही अवधिमा आत्महत्याको तीन हजार ५३४ घटना दर्ता भएका थिए । तुलनात्मक रूपमा चालू आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटना २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको र दैनिक औसत १७ जनाले आत्महत्या गरेको पाइएको कुँवरले जानकारी दिए ।

गत आर्थिक वर्षभन्दा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भई जबर्जस्ती करणीका एक हजार ६५३ घटना दर्ता भएको प्रहरीले जनाएको छ । तथ्यांक विष्लेषण गर्दा प्रतिदिन औसत सात जबर्जस्ती करणीका घटना भएको पाइएको छ । प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ । जबर्जस्ती करणीका घटना प्रायजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको कुँवरले बताए ।

कुल एक हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिवादीमध्ये ११ दशमलव २१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका छन् । समग्रमा ८१ दशमलव ५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन् । आव २०७६/७७ को फागुन मसान्तसम्म जबर्जस्ती करणी उद्योगमा ४६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधिमा ५०९ घटना दर्ता भएको जनाइएको छ । 

पछिल्लो आठ महिनामा चोरीका कुल एक हजार ५६९ वटा घटना दर्ता भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८२ प्रतिशत कम रहेको छ । यस्तै, बैंकिङ कसुरसम्बन्धी अपराधमा यसपाली कम देखिएको छ । गत वर्षको फागुनसम्म बैंकिङ कसुरका दुई हजार ८२८ मुद्दा दर्ता भएकामा यो वर्षको सोही अवधिमा एक हजार ६८८ मुद्दा आएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि