सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेपछि मास्क लगाउन कडाइ थालिएको हो । गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौँले सचेतना कार्यक्रमसँगै जरिवाना हुने चेतावनी दिएको छ ।
काठमाडौं प्रहरीले मुख्य चोकहरूमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । सोमबार जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ ।
प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।
पहिलो चरणमा सचेतना अभियान सुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने हुने छ । गौशाला चोकमा माइकिङ गर्दै महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले भने, ‘अब, मास्क नलगाई हिँडे जरिवाना गर्छौँ ।’
पहिले सचेत गराएपछि जरिवाना गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । ‘अहिले सचेतना गराएका छौँ’, प्रजिअ पराजुलीले भने, ‘जनतालाई सचेत गराएपछि अनि, हामी जरिवानामा जान्छौँ ।’
सङ्क्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।