असोज ०६, २०८१, आइतबार
               

अब काठमाडौं उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घर–घरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । 

अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए ।

केन्द्रको परीक्षण सकिएपछि नयाँ र पूरानो दुवै पोखरीमा पानी पठाइनेछ । नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पूरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ । उनले भने, ‘पुरानो पोखरीको पानी पुरानो पाइपमार्फत वितरण हुनेछ ।’

अहिले सुरुङ परीक्षणको क्रममा छ । त्यो सकिएपछि प्रशोधन केन्द्र र त्यसपछि थोक वितरण प्रणाली पाइपलाइनको परीक्षण हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बनेका ९ वटा पोखरी र पहिलेबाट सञ्चालनमा रहेका ६ वटा पोखरीमा पानी सँगसँगै जानेछ । नयाँ पोखरीमा भरिएको पानीले चैतमा नै नयाँ पाइपलाइन परीक्षण सुरु हुन्छ । उनले भने, ‘परीक्षण सबै गरिसक्न दुईतीन महिना लाग्छ ।’

काठमाडौं उपत्यकामा दुई सातापछि पानी आउँदा एकै पटक क्षमताअनुसारको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै संरचना परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा आउनेछ । त्यसलाई क्रमशः बढाउने योजना बनाइएको छ । काठमाडौंमा पानी आयो भन्नासाथ पूरै पानी एकैपटक नआउने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।

मेलम्चीबाट पहिलो चरणमा आउने भनिएको दैनिक १७ करोड लिटर प्रणालीमा जान अझै केही समय लाग्ने उनले बताए । आयोजनाले सुरुङ र प्रशोधन केन्द्रको परीक्षण सकेर त्यताबाट पानी पोखरीमा पठाएपछि वितरण तत्काल सुरु गरिने उनले बताए ।

जति पानी पोखरीमा आउँछ त्यति नै धारामा पानी पठाइनेछ । उनले भने, ‘दैनिक पानी पठाइनेछ, पानी थपिँदै जाँदा घरघरमा जाने पानीको परिमाण पनि बढ्नेछ ।’

पोखरीमा कति मात्रामा पानी उपलब्ध हुन्छ त्यही अनुसार  दैनिक एक–दुई घण्टासम्म पानी वितरण गरिने लिमिटेडले जनाएको छ । परीक्षणका क्रममा समस्या नआएको पाइएमा हेरेर पानीको परिमाण बढाउँदै जाने गरी योजना बनाइएको छ ।

लिमिटेडअन्तर्गतका सबै शाखा कार्यालयको आ–आफ्नो फेसबुक पेजबाट कहिले कहिले पानी वितरण गर्ने भनी जानकारी दिने उनले बताए । सोही माध्यममा नै पानी नआउँदा सम्पर्क गर्ने व्यक्तिको समेत टेलिफोन नम्बर राखिने छ । 

समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको उनले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्ययवसायी र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ । उनले भने, ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।’ 

मेलम्चीको पानी काठमाडौं आइसकेको र त्यसको वितरणका लागि संरचनाको निर्माण भइसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जानकारी दिए । अबको केही साताभित्रै उपत्यकावासीले नियमितरूपमा पानी पाउने उनको भनाइ छ ।

मेलम्चीको पानी वितरणकै लागि उपत्यकाका विभिन्न स्थानमा गरी नौ केन्द्रबाट पानी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले परीक्षणको काम भइरहेको उनले बताए । उनले भने, ‘धारामा धमिलो जाँदैन प्रशोधन गरेर सफा पानी जान्छ ।’

अहिले परीक्षणका लागि सुरुङमा जम्मा भएको पानी बागमतीमा जाने उनले बताए । सबै संरचनाको परीक्षण गरिएको पानी वाग्मतीमा जानेछ भने परीक्षण सकिएर ठीक छ भनेपछि त्यो पानी प्रणालीमा जानेछ ।

मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको हो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । 

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकसँग सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।

केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झार्ने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि