बैशाख १७, २०८१, सोमबार
               

गिफ्ट दिन्छु भन्दै सामाजिक सञ्जालबाट करिब २ करोड ठगी गर्ने पक्राउ

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगी गरेकाे अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेकाे छ । 

अभियुक्तले फेसबुक, वाट्स एप, इमाे र इमेबलबाट सिंगापुर, लण्डन, कोरियाको नागरिक हुँ भनी विभिन्न व्यक्तिलाई विश्वास दिलाई ठगी गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार झापा अर्जुनधारा नगरपालिका-९ का ३० वर्षीय पंकज पौडेलीलाई नगद १३ लाख ९५ हजार २१५ सहित पक्राउ गरेकाे हाे । 

उनले पीडितहरूलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको र रोजगारीका लागि भिषा लगाइदिने भनी नक्कली भिषासँगै गिफ्ट पठाएका थिए । उनले उक्त गिफ्टहरू प्राप्त गर्नका लागि भन्सार शुल्क तिर्नुपर्छ भनी भारतबाट फोनसमेत गरी नेपालमा रहेका विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउनु भनी २६ लाख ८० हजार २७१ ठगेकाे पीडितहरूकाे निवेदनकाे आधारमा पक्राउ गरिएकाे हाे । 

प्रहरीकाे अनुसन्धानका क्राममा पीडितलाई विभिन्न व्यक्तिहरूको नाममा रकम पठाउन लगाएकाे देखिएका छन् । रकम निकाल्दा रकम पठाएकाहरूकै फोटो प्रयोग गरी नक्कली सवारीचालक अनुमतिपत्र पेश गरेरसमेत रकम लिने गरेको देखिएकाे छ । उक्त ठगी सञ्जाल कार्यमा समेत पौडेलीको संलग्नता रहेको देखिएकाे छ । निजको एक करोड ९५ लाख १२ हजार ३५२ विभिन्न व्यक्तिबाट प्राप्त गरेको रेकर्डसमेत निजकाे माेवाइलमा फेला परेकाे प्रहरीले जनाएकाे छ ।  थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ । 

प्रहरीका अनुसार उनकाे साथबाट केही नक्कली सवारीचालक अनुमतिपत्रकाे प्रतिलिपीसमेत बरामद गरिएकाे छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि