बैशाख २२, २०८१, शनिबार
               

निर्णय भए पनि सीमानाका खुलेन

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

कञ्चनपुर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन ।

तीन दिन अघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमानाका खुल्ला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ ।

कञ्चनपुरसित जोडिएको गड्डाचौकी नाका र डोकेबजार नाकाबाट भारतमा मजदूरीका लागि जाने नेपालीलाई प्रक्रिया पूरा गरेर जान दिइए पनि यात्रा भने सहज नभएको उनीहरुको भनाइ छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा नाका निर्वाधरुपमा खुला नरहेको जानकारी दिए । ‘मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा हामीले बोल्न मिल्दैन’, उनले भने, ‘औषद्योपचारलगायत अत्यावश्यक कामका लागि हामीले सिफारिस गरेको आधारमा भारत आउने–जाने भइरहेको छ ।’

उनले नाका सुचारु भएको विषयमा प्रशासन कार्यालयले सूचनासमेत जारी नगरेको बताए । भारत जाने नेपालीलाई भारतीय पक्षबाट पनि यहाँका नाकामा रोकटोक छैन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउने विषयमा भारतीय पक्षसित पनि समन्वय हुनुपर्नेमा जोड दिए ।

‘मन्त्रिपरिषद्को निर्णयले यहाँ झन अलमल जस्तो भयो’, उहाँले भने, ‘नेपाली पक्षले मात्रै खुलाएर भएन भारतीय पक्षसित पनि समन्वय गरेर नाका निर्वाधरुपमा सञ्चालन गर्नपर्छ ।’ 


कस्तो लाग्यो ?

यो पनि