बैशाख २२, २०८१, शनिबार
               

इजलासमा अधिवक्ता पोख्रेलको प्रश्न : प्रधानमन्त्रीलाई संसद‍्ले कहाँ असहयोग गर्‍यो ?

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहसकाे क्रममा आज अधिवक्ता कृष्णभक्त पोख्रेलले प्रधानमन्त्रीलाई संसदले कहाँ असहयोग गर्‍यो भन्ने प्रश्न गरेकाे छन् । बिहीबार रिट निवेदकको तर्फबाट बोल्दै सांसदसमेत रहेका अधिवक्ता कृष्णभक्त पोख्रेलले ताजा जनादेशको बहानामा प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताएका हुन् । 

उनले संबैधानिक इजालसमा भने, ‘श्रीमानको दिमागमा कुन समय ताजा जनादेश हो भन्ने लाग्ला, मलाई त्यो समय उचित नलाग्ला, केलाई भन्ने ताजा जनादेश ? संविधानले दिएको समयअगावै जनमतमा जानुलाई ताजा जनादेश भन्ने हो र ?’ उनले भने, ‘फेरि पनि प्रतिनिधि सभाले अल्पमतको प्रधानमन्त्री ल्याउँदैन, प्रतिनिधिसभाले बनाउने भनेकै बहुमतको प्रधानमन्त्री हो ।’

‘सरकारको नीति तथा कार्यक्रम पारित भएको छ, बजेट पारित भएको छ, विधेयकहरू पारित भएका छन्,’ उनले प्रश्न गरे, ‘कसरी संसदले असहयोग गरेको छ ? मेरै समितिबाट १५६ वजटा कानुन जस्ताको तस्तै पारित भएको छ’ संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका पोखरेलले भने ‘सत्य निरुपण आयोगको म्याद थप्ने जस्ता सरकारले ल्याएका हरेक प्रस्ताव पारित भएको छ ।’

सुनुवाइका क्रममा न्यायाधीश अनिलकुमार सिन्हाले रिट निवेदक तथा अधिवक्ता पोख्रेललाई सोधेका थिए, ‘पार्टीबाट असहयोग भएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको भनेर प्रधानमन्त्रीले भन्नुभएको रहेछ नि !’ जवाफमा पोख्रेलले पार्टी र प्रतिनिधिसभा छुट्टाछुट्टै निकाय भएको र दुवैको छुट्टाछुट्टै महत्व रहेको भन्दै पार्टीले गरेको असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर गरे । उनले प्रतिनिधिसभाले असहयोग गरेको उदाहरण एउटा पनि नभएको दावी गरे ।


कस्तो लाग्यो ?

यो पनि