असोज ०६, २०८१, आइतबार
               

अब सबै सरकारी कार्यालयका सेवा लाइनबाट नभई अनलाइनबाट

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

सरकारी सेवासम्बन्धी सेवा तथा गुनासा अब मोबाइल एपबाटै लिन/दिन सकिने भएको छ। सम्भव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत् उपलब्ध गराउने उद्देश्यका साथ ‘नागरिक एप’ बिहीबार सार्वजनिक गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त एप सार्वजनिक गरेका हुन् । पछिल्लो समय विभिन्न सरकारी सेवा क्रमशः अनलाइनमार्फत उपलब्ध गराउन थालिएको छ । तर, सेवा लिने माध्यम फरक फरक हुँदा सेवाग्राहीलाई झन्झट हुने गरेको भन्दै सरकारले सबै सेवालाई समेट्ने गरी नागरिक एप ल्याएको हो । 

हात हातमा सरकारी सेवा

यसले जनताको हात हातमा सरकारी सेवा पुर्‍याउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले बताएका छन् । सचिव बस्यालका अनुसार वेटा भर्सनमा सार्वजनिक गरिएको एपमा हाल ९ वटा सेवा समेटिएको छ । २०७५–७६ को सरकारी नीति तथा कार्यक्रमले परिकल्पना गरेको नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्त्वपूर्ण आधारको रूपमा लिइएको छ ।

त्यसका लागि गृह मन्त्रालयसँग रहेको दुई करोड १५ लाख नागरिकताको विवरण र निर्वाचन आयोगको सर्भरमा रहेको एक करोड ५५ लाख नागरिकको औँठा छाप र फोटोसहितको जानकारीमार्फत नागरिकको डिजिटल परिचय बनाइएको छ ।

यससँगै एपले सरकारी सेवा लिन नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट अन्त्य गरिदिनेछ । एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सकिने भएको छ ।

यसका साथै हाल एपमार्फत आफ्नो शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगाएको सेवा लिन सक्नुहुनेछ । भने, सरकारलाई गुनासो दर्ता गराउन समेत सकिने छ ।

सेवा लिन सरकारी कार्यालय जानै नपर्ने

हाल यती सेवा उपलब्ध भएता पनि नागरिक एपले सार्वजनिक सेवाका लागि सकेसम्म सरकारी कार्यालय जानै नपर्ने अवस्था ल्याउने बताइएको छ । यसमा बिस्तारै राष्ट्रिय परिचयपत्रलाई समेत जोडिनेछ उल्लेख गरिएको छ ।

यसबाट नागरिकको समय बचत हुनुका साथै झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढाएर भ्रष्ट्राचार न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एपबाटै प्रदान गरिने मन्त्रालयले जनाएको छ । 

जसअनुसार स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने उल्लेख गरिएको छ । 

आफ्नै नाममा दर्ता भएको मोबाइल चाहिने

यो एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट भने आवश्यक पर्नेछ ।  मोबाइल नम्बर राखिसकेपछि कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रुपमा पत्ता लगाउनेछ । नागरिकता नम्बरकै भरमा एपले सम्बन्धित निकायको सिस्टममा पहुँच बनाउन सक्ने उल्लेख गरिएको छ । 

उदाहरणका लागि कुनै कार्यालयलाई तपाईँको प्यान विवरण चाहिने भए एपले राजश्व विभागको सिस्टमबाट स्वचालित रुपमा प्राप्त गर्न सक्छ । यसको अर्थ तपाईँले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनु पर्दैन ।

विवरण भर्न झन्झट नहुने

नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन । एउटा क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि स्वतः आवेदन भरिन्छ । यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि