काठमाडौं । सिंहदरवारको पश्चिम गेट अगाडि झडप भएको छ ।
पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको हो ।
पृथ्वीनारायण शाहको शालिकतर्फ जाँदै गरेको जुलुसलाई सुरक्षाकर्मीले रोकेका छन् । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो ।
सिंहदरवारको पश्चिम गेटतर्फ रहेको शाहको शालिकतर्फ अगाडि बढ्दै गरेको जुलुसलाई सुरक्षाकर्मीले भद्रकालीमन्दिर नजिक रोकेका थिए ।
पश्चिम गेट क्षेत्र निशेधित क्षेत्र हो । सो क्षेत्रमा नाराजुलुस, प्रदर्शन गर्न पाइँदैन ।
सो क्षेत्रमा रहेको शाहको शालिकमा माल्यार्पण गर्न ठूलो भीड त्यसतर्फ अघि बढेपछि झडप भएको हो ।
राष्ट्रिय एकता दिवस
आज पुस २७ गते राष्ट्रिय एकता दिवस अर्थात् २९९औँ पृथ्वीजयन्ती दिवस । राष्ट्रिय एकता दिवस मूल समारोह समितिले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै छ ।
हरेक वर्ष पुस २७मा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गरी सम्मानस्वरुप यो दिवस मनाइन्छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक हुन् ।
जसको अथक मिहिनेतका कारण टुक्रटुक्रामा अवस्थित विभिन्न राज्य एकीकरण भई आज विशाल नेपाल बनेको छ ।
उनले उनले तत्कालीन समयमा बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । विगत हेर्दा २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन सुरु गरिएको पाइन्छ ।