मंसिर ०६, २०८१, बिहीबार
               

धादिङमा एकीकरण यात्रा

रासस
पुस २३, २०७७

ADVERTISEMENT

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा बुधबार धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झन्डा धादिङको बोर्लाङघाटमा आएर धादिङस्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो ।

बुधबार बोर्लाङबाट हिँडेको सेनाको टोली बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । एकीकरण पदयात्रा नाम दिएको सो पदयात्रामा देवीदत्त गणका प्रमख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए ।

चरङ्गेस्थित शान्ति कालिका आधारभूत विद्यालयमा आएपछि गाउँवासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गरेका थिए ।

पदयात्राको टोलीले आज कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङसम्मको यात्रा पार गरी नुवाकोटमा रहेको श्री जबरजङ्ग गणलाई हस्तान्तण गर्नेछ । टर्च र झण्डासहित काठमाडौँको पल्टन पुस २७ गते पृथ्वीजयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म उक्त पदमार्गको दूरी २६ कोस रहेको छ ।
    
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौँ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म ओहोरदोहोर गरेको इतिहास छ । पदमार्ग, कोट, गण र किल्ला सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो पदयात्रा शुरु गरेको नेपाली सेनाले जनाएको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि