जेठ ०६, २०८१, आइतबार
               

अध्यक्षको निर्देशनमा वृद्धालाई निकालियो आश्रमबाट

रासस
पुस २१, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको छ । 

लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका-७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । 

आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मौखिक गुनासो गरेकी छन् । 

आश्रममा आफू बस्दै आएको कोठाबाट आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीको निर्देशनमा समितिका केही व्यक्तिले निकालेको वृद्धाले प्रजिअसमक्ष गुनासो पोखेकी थिइन् ।  

‘म बिरामी भएर थलिएकी छु, उहाँहरुले आश्रमबाट पटकपटक निक्लिएर जा भनेर दबाब दिनुभयो, म कहाँ जाने, कुनै ठाउँ छैन, केही दिन चिनेजानेकाको शरणमा परेँ, अति भएपछि न्याय पाउँछु की भनेर हजुरसमक्ष आएकी हूँ’, प्रजिअ समक्ष पौडेलले रुँदै भनेकी छन् । 

आफन्त र संरक्षकसमेत नभएकी पौडेलले गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने र निःशुल्क खाने गर्दै आएकी थिइन् । 

केही समयदेखि बिरामी भएपछि शरीर काँप्ने समस्याले आश्रममै आराम गरेर बस्दै आए पनि त्यहाँ कार्यरत केही कर्मचारीले अध्यक्षले आश्रममा नराख्न भनेको र निस्कन बारम्बार दबाब दिएपछि आफूलाई आश्रमबाट निकालिएको पौडेलको गुनासो छ । 

वृद्धा पौडेलको गुनासो सुनेलगत्तै प्रजिअ अधिकारीले आश्रमका अध्यक्ष केसीलाई फोन सम्पर्क गरेका थिए ।  सो क्रममा प्रजिअ अधिकारीले अध्यक्ष केसीलाई कुनै पनि बहानामा वृद्धालाई आश्रमबाट निकाल्ने जस्तो गैरजिम्मेवार काम नगर्न सचेत गराउँदै निष्कासन गरिएकी वृद्धालाई तत्काल उचित बसोबासको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।  

प्रजिअ पौडेलले प्रशासनको तर्फबाट जाडोमा ओढ्ने बल्याङ्केटसमेत प्रदान गरेका छन् ।  गलेश्वरदेखि गुहार खोज्दै बेनी आएकी पौडेललाई प्रशासनको पहलमा पुनः आश्रममै बसोबासको प्रबन्ध मिलाउने गरी गलेश्वर नै पठाइएको छ । 

गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा ०६७ सालदेखि अनाथ, असहाय, अपाङ्गता, वृद्धवृद्धा, साधुसन्त र एकल महिला, पुरुषलाई गाँस, बास र कपासको व्यवस्था गर्ने उद्देश्यले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा छ । तर आश्रमले नै असहायलाई विचल्लीमा पारेको घटना यो पहिलो पटक बाहिर आएको हो । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि