जेठ ०५, २०८१, शनिबार
               

चार वर्षसम्म बनेन दश अवतार मन्दिर

रासस
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन ।

निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ । 

विसं २०७३ चैत ३० गते दश अवतार मन्दिर पुनःनिर्माणका लागि प्राकृतिक/सानुबाबु÷एसटी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७५ साउन १५ गते नै पुनःनिर्माण सक्नुपर्ने थियो ।  

शुरुमा स्थानीयवासीले निर्माण व्यवसायीबाट नभई समुदायलाई नै मन्दिर पुनःनिर्माणको जिम्मेवारी दिनुपर्ने जनाउँदै काम रोकेका थिए । केही समय काम रोकिएको भन्दै विभागले पहिलोपटक २०७६ असोज १५ गतेसम्मका लागि म्याद थप गरेको इञ्जिनीयर लक्ष्मण लम्सालले जानकारी दिए । 

यसबीचमा स्थानीयवासीको मागअनुसार निर्माणका केही पक्षमा संशोधन गरिएको थियो । पहिलोपटक थप गरिएको म्यादमा काम नसकेपछि विभागले दोस्रोपटक २०७६ चैत मसान्तसम्मका लागि म्याद थप गरेको थियो । कोरोना महामारीका कारण काम गर्न सकिएन जनाउँदै निर्माण व्यवसायीले २०७७ वैशाख २३ गते विभागमा निवेदन दिई पुनःम्याद थपको माग गरेको थियो ।

निर्माण व्यवसायीकै मागअनुसार अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्मका लागि मन्दिर पुनःनिर्माण सम्पन्न गर्न म्याद दिइएको जनाइएको छ । 

चैत मसान्तसम्म पनि काम नसके कालोसूचीमा राखी कारवाहीको सिफारिस गरिने विभागका महानिर्देशक दामोदर गौतम बताउँछन् । कानूनी कारवाही गरेर मात्र मन्दिर पुनःनिर्माण नहुने भएकाले समय भएसम्म काम गराउने गरी प्रोत्साहन गरिएको उनले बताए । आइतबार महानिर्देशक उनले मन्दिर पुनःनिर्माणको अवलोकन गरेका थिए ।

तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पाएकामा पहिले काम गरेको कम्पनीले नसकी हाल अर्कोले काम गरिरहेको छ । तीन करोड ९२ लाख ७८ हजार ९०६ लागत अनुमान गरिएकामा तीन करोड ७५ लाख नौ हजार ८५५ मा ठेक्का गरिएको थियो ।

हालसम्म पुनःनिर्माणको ५४।४७ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति भएको विभागले जनाएको छ । पछिल्लो समय काठ नपाएर पुनःनिर्माणमा समस्या आएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि