जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा यस वर्षकै बढी चिसो, अघिल्लो पुस ३ मा कति थियो तापक्रम ?

रासस
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । 

काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

गत वर्ष पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ । 

‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताए ।

“कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौंको न्यूनतम तापक्रम अबको दुई–तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ” मौसमविद् पौडेलले भने । 

तापक्रम घटेपछि काठमाडौं उपत्यकामा बढी चिसो महसुुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि