काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ ।
कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ ।
आगामी शैक्षिक सत्रदेखि कामपामा रहेको ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा अनिवार्य लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो ।
अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुनेछ । नेपालको संविधानको भाग ३ मौलिक हकसम्बन्धी व्यवस्था छ ।
जसअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा कामपाले यो पाठ्यपुस्तक तयार गरेको हो ।
कामपा शिक्षा विभागका अधिकृत मोती खनालका अनुसार गएको वैशाख–जेठबाट तयारी सुरु गरिएको थियो ।
कोभिड–१९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको थियो ।
“पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपि जस्ता विषय समेटिएका छन् ।
प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । अहिले कक्षा १ का लागि पाठ्यपुस्तक तयार भइसकेको छ ।
कक्षा २ देखि कक्षा ८ सम्मका पुस्तकहरू डिजाइनको चरणमा छन् । पूर्ण रूपमा रङ्गीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ ।
पुस्तकमा नेपालभाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ । कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा २ लाख २० हजार विद्यार्थी पठन पाठन गर्ने गरेका छन् ।
कामपाको सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी पठाउने तयारी कामपाको रहेको छ ।