बैशाख १२, २०८१, बुधबार
               

शिकारीले छाडेको बन्दुक पड्केर वन रक्षकको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

उदयपुर । बुधबार राति उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वन रक्षक ४० वर्षीय लेखनाथ बास्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले बास्तोलाको मृत्यु शिकारीले छाडेको बन्दुक बोकेर कार्यालयमा ल्याउने क्रममा पड्केर मृत्यु भएको जानकारी दिए ।

मृतकका आफन्तले बिहीबार रातिसम्म पनि शव बुझ्न नमानेको साहले बताए । डिभिजन वन कार्यालय गाईघाटका अनुसार बुधबार राति सबडिभिजन वन कार्यालय तपेश्वरीका दुई जमदार, दुई सिपाही र दुई वनरक्षक गरेर ६ जना रात्रिगस्तीमा गएका थिए ।

जङ्गलमा चोरी शिकारी फेला परेपछि वनका कर्मचारीले घेर्ने क्रममा शिकारी बन्दुक छाडेर भागेपछि उक्त बन्दुक वनरक्षक बास्तोलाले बोकेर गाडीबाट कार्यालयसम्म ल्याएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।

बास्तोलाले राति १० बजे उक्त लोड भएको भरुवा बन्दुक कार्यालयभित्र लाने क्रममा ढोका नजिकै पड्कँदा आफैलाई लागेर घटनास्थलमै उनको मृत्यु भएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका पौडेलले बताए ।

घटनापछि बिहीबार सुनसरी दुहबी घर भएका वनरक्षक बास्तोलाका आफन्तलाई बोलाइएको र घटनाबारे जानकारी गराएर प्रहरी र वनका कर्मचारीले शव बुझ्न आग्रह गरे पनि मृतकका आफन्तले शव बुझ्न नमानेपछि बिहीबार रातिसम्म शव कार्यालयमै रहेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।

मृतकका एक आफन्तले आफैँ बन्दुक पड्कन असम्भव रहेको र यसभित्र कुनै रहस्य भएका कारण छानविन भएर वास्तविकता बाहिर नआएसम्म आफूहरुले शव नबुझ्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि