बैशाख १५, २०८१, शनिबार
               

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई  प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । 

निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् । उनीहरूलाई गत आइतबार नै निलम्बन गरिएको भए पनि प्रहरीले आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङका अनुसार तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका उनीहरुलाई निलम्बन गरिएको हो ।  यही मङ्सिर ११ गते साँझ साढे ५ बजे सुरक्षाकर्मीले काम परिवर्तन गर्ने समयमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए । फरार श्रेष्ठको खोजी जारी छ । उक्त घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको समितिले प्रतिवेदन पेश गरेसँगै उनीहरूलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको हो । 

कारागार प्रशासन, सुरक्षा प्रशासन र  आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकाले विभागीय कारवाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ । भरतपुर कारागारबाट अहिलेसम्म सात कैदी फरार भएका छन् । कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन् । बाँकी ६ जना अदालत लैजाने र अस्पतालमा उपचारका क्रममा भागेको कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । २८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ कैदीबन्दी राखिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि