कात्तिक ३०, २०८१, शुक्रबार
               

बढ्यो सगरमाथाको उचाई, केही दिनमा घोषणा हुने

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । 

आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

भूमी व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृति प्रदान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकी थिइन् । आर्थिक वर्ष २०६४र६५ बाट सुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको हो । 

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । 

सन् २०१९ मा चीनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमती भएको थियो । सोहीबमोजीम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ ।


कस्तो लाग्यो ?

यो पनि