जेठ ०७, २०८१, सोमबार
               

नमुना गाउँ बनाउन प्रधानमन्त्रीलाई घुन्साबासीको माग

रासस
मंसिर ०८, २०७७

ADVERTISEMENT

कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने ताप्लेजुङको हिमाली गाउँ घुन्सामा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले स्थानीय उत्साहित भएका छन् । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण भएको भन्दै स्थानीयवासी हर्षित बनेका हुन् । 

फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न प्रधानमन्त्री सोमबार गएका हुन् । 

विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको थियो । स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पुर्‍याउनुपर्ने अवस्था थियो । देश विदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेको जस्ता पीडा स्मरण गर्दै घुन्सावासीले अब सामुदायिक स्वास्थ्य एकाइ भवन सञ्चालनमा आएकाले विगतको जस्तो समस्याबाट मुक्त हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरेका छन् ।

घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको थियो । आफ्नै भवन नहुँदा समस्यामा परेको स्वास्थ्य एकाइले दुई वर्षअघि मात्र भवन पायो । घुन्सा फाउन्डेसनको पहलमा भवन स्थापना भएको हो । पर्याप्त स्वास्थ्यकर्मी नहुँदा जटिल समस्याका बिरामी अन्यत्रै जानुपर्ने बाध्यता छ ।

सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनका समयमा मात्र पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयवासीलाई मात्रै नभई देश विदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ । 

घुन्सालाई नमुना गाउँ बनाउन माग

कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो । पर्याप्त विद्युत् र इन्टरनेटको सेवा सुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन् ।

यस्तै घुन्सा नमुना गाउँ बन्नेमा समेत उनीहरु विश्वस्त देखिएका छन् । ‘हाम्रो यस्तो दुर्गम गाउँमा प्रधानमन्त्रीलगायतको उपस्थितिले हामी धेरै आशावादी बनेका छौं, हामीले झेल्दै आएको स्वास्थ्य उपचार, विद्युत्, टेलिफोनसहित इन्टरनेटको समस्या समाधान हुन्छ होला’, स्थानीयवासी भन्छन् ।

यस्तै विगतका तुलनामा यस क्षेत्रमा पर्यटन गतिविधिसमेत बढेर जानेमा स्थानीय   ढुक्क  छन् । घुन्सालाई नमुना गाउँका रुपमा विकास गर्न त्यहाँका बासिन्दाले माग गरेका छन् । स्थानीयवासीले प्रधानमन्त्रीसमक्ष मागपत्र पेस गर्दै पर्यटन प्रवर्द्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युत्को क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका हुन् ।

यस्तै यस क्षेत्रको पहिलो बस्ती खम्बाचेतको नापी छुट भएका जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिनसमेत स्थानीयवासीले अनुरोध गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि