डोल्पामा हिमपात भएको छ । आइतबार रातिदेखि नै सुरु भएको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ ।
भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षासँगै हिमपात भएको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् ।
माथिल्लो डोल्पास्थित शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको शे-फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए ।
हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको छ। अहिलेपनि निरन्तर रुपमा हिमपात भइरहेको लामाले बताए ।
बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको वडाध्यक्ष लामाले बताए । माथिल्लो डोल्पाका बासिन्दाले बौद्धधर्म मान्ने भएकाले तिहार भने मनाउँदैनन् ।
त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा शुरु भएको छ । त्यस्तै बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ जमेको छ ।
वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटीका पर्वसमेत प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दिलबहादुर बिष्टले बताए ।