असोज ०६, २०८१, आइतबार
               

सेनाकाे कुकुर क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पुर्‍याउँदै आएका छन् । त्यहाँ खासगरी हातहतियार र विस्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षामा कुकुर समावेश गरिएको छ । पछिल्लोपटक लिबियामा गत यही कात्तिक १४ गते ‘किलो’ नामक कुकुर पठाइएको छ भने लिबियाबाट हालै फिर्ता भएको ‘माइकल’ नामक कुकुरलाई सेनाको क्वारेन्टाइनमा राखिएको छ ।

सरकारले २०५५ सालमा सेनामा तालीमप्राप्त सैनिक डग राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ सालदेखि तालीम दिइएको थियो । गट्ठाघरस्थित भैरव वाहन गुल्मको डग केनलमा हाल जर्मन सेफेर्ड २३, लेब्राडोर ५४, ककर स्पाइनल पाँचवटा कुकुर तथा मालिनोइज जातका तीन साना छाउरा रहेको गुल्मपति सञ्जीवसिंह सिजापतिले जानकारी दिए ।

कुकुरमा तीन किलोमिटर टाढासम्मको गन्ध थाहा पाउने शक्ति हुन्छ भने एक पटक सुँघेको कुरा एक घण्टासम्म स्मरण गर्न सक्छ । एउटा कुकुरका लागि तालीम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ खर्च छ । शान्ति सेनामा सुरक्षा र गस्तीमा खटिने प्रतिजोडाले  ८९० र  खोज तथा उद्धारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५ अमेरिकी डलर भत्ता प्राप्त हुने उक्त गुल्मले जनाएको छ ।

सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । सामान्यतया एउटा स्वस्थ्य कुकुरले आठ वर्षका उमेरसम्म पूर्णरुपमा काम गर्ने बताइन्छ । यसका अतिरिक्त सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर दुई र जर्मन सेफेर्ड एक तथा चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारी नियन्त्रणका लागि मालिनोइज र लेब्राडोर दुई जातका कुकुर रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले कुकुरलाई समयानुकूल तालीम प्रदान गर्न  डग हाण्डलरलाई भारत, पाकिस्तान र बङ्गलादेश पठाउने गरेको छ । सुरक्षा फौजले सञ्चालन गर्ने विभिन समारोहमा समेत खेलकूद र मनोरञ्जनका लागि कुकुर प्रयोग गरिँदै आएको छ । सो गुल्ममा आज सेनाले कार्य जिम्मेवारीमा खटिँदा कुकुरले गर्ने कार्य जिम्मेवारीको नमूना अभ्यास प्रस्तुत गर्नाका साथै कुकुरको सामूहिक पूजा कार्यक्रमको आयोजना ग¥यो ।

यो पनि