काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने भएको छ ।
यसको लागि आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न महानगरले आग्रह गरेको छ ।
शुक्रबार महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने बताएको हो ।
असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । त्यस्ता व्यक्तिहरुले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि केही निजी संस्थाहरुले काठमाडौंको खुलामञ्चमा बेरोजगार, असहाय र अशक्त व्यक्तिहरुका लागि खाना खुवाउँदै आएका थिए ।
स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना, सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने भन्दै महानगरपालिकाले मंसिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यमा रोक लगाइदिएको छ ।