बैशाख २४, २०८१, सोमबार
               

आइसियूमा रहेका मनोजलाई मीनाको भावुक पत्र, मनोजको यस्तो सन्देश

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेल आइसियूमा उपचाररत छन् । 

कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  कोरोना संक्रमण पसष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ । 

आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सार्वजनिक गरेका थिए । आफ्ना दाजुलाई अस्पताल ल्याउने-लैजाने क्रममा आफू संक्रमित भएको हुनसक्ने उनले बताएका थिए ।  

यसैबीच, मनोज गजुरेलको स्वास्थ्य लाभको कामना गर्दै उनकी पूर्वपत्नी मीना ढकालले एक भावुक सन्देश (पत्र) लेखेकी छिन् । मनोज र मीनाको केही समय अगाडि डिभोर्स भएको थियो ।

सामाजिक सञ्जाल (फेसबुक) मा मीनाले एक भावुक स्टाटस लेख्दै मनोजको शीघ्र स्वास्थ्य लाभको कामनासहित उनी छिट्टै हार मान्ने मान्छे नभएको बताएकी छिन् ।

उनले आफू अहिले अलग भएपनि दुई सन्तानको जन्मदाताको रुपमा आजपनि गजुरेललाई उत्तिकै सम्मान र माया गर्ने उल्लेख गर्दै जतिसुकै मनमुटाव भएपनि सिकिस्त भएको खबर सुन्दा बेचैनी बढेको भावना पोखेकी छिन् । 

मीनाले लेखेकी छिन्, ‘जिन्दगीले जुनसुकै मोडल अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नो जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौं र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ । तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग जीवनका बिसौं बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै भएरपनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो विचमा दुरी ल्यायो होला, फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आइसियूमा उपचाररत छौं भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महशुश भइरहेको छ ।’

मिनाले मनोजको सुस्वास्थ्यको कामना गर्दै आफ्नो पुकार भगवानले सुन्ने उल्लेख गरेकी छिन् ।

मनोजलाई मीनाले भनेकी छिन्, ‘तिमी छिट्टै हार मान्ने मान्छे होइनौं । मैले विसौ तीजका निराहार ब्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायूको कामना गर्न छाडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन् । तिमी र म विच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरालागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिट्टै निको भएर घर पुगेको देख्न पाउँ ।’

अस्पतालको बेडबाट मनोजको सन्देश

यसैबीच, मनोजले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफू आराम रहेको र दैनिक रुपमा राम्रो हुँदै गएको उल्लेख गरेका छन् ।

फेसबुकमार्फत मनोजले आफू आराम रहेको र आरामको कामना गरिरहेको बताए । अस्पतालको बेडमार्फत गजुरेलले हिजोभन्दा आज धेरै राम्रो भइरहेको जानकारी दिएका छन् । 

मनोजले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि