काठमाडौं । एक महिलालाई बोक्सी लागेको भन्दै तातो पन्यूँले डामेर घाइते बनाउने काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१२ की माता भनिने १९ वर्षीया ईश्वरी थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त नगरपालिका–९ की ३७ वर्षीया शर्मिला विकलाई बोक्सी लागेको भन्दै उपचार गराइदिने बहानामा पन्युँले डामेएर पीडामाथि थप अर्को पीडा दिने मातालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार ती ३७ वर्षीया पीडित विकमाथि अमानवीय काम गरेकोमा मुद्दा चलाइएको छ । पक्राउ परेकी महिला डेढ वर्षदेखि पाँचखाल आसपासको क्षेत्रमा माताको रुपमा परिचित थिइन् ।
पीडित विक काम्ने र कराउने भएपछि घर नजिकै रहेको माता भनिने थापाले आफूले यस्तो रोगको धेरैको उपचार गरिसकेको भन्दै पन्यूँ तताउन लगाएर डामेको उजुरीमा उल्लेख गरिएको छ । तर, परिवारले डामिदिन दबाब दिएपछि मात्रै आफूले डामेको माता भनिने थापाले बताएकी छन् ।
विगत दुई वर्षदेखि डिप्रेशनको औषधी खाइरहेको र ‘छोप्ने’ व्यथासमेत रहेका पीडित विकलाई पीडक ती माताले तातो पन्युँले डामेपछि ठिक हुने बताउँदै पन्युँले आफूमाथि डामेको उनले लगाएकी छन् ।