बैशाख ३०, २०८१, आइतबार
               

जापानले पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई अर्डर अफ दि राइजिङ सनबाट विभूषित गर्ने

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन’ विभूषण प्रदान गर्ने भएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।  उनलाई ‘अटम इम्पेरियल डेकोरेसन’ अन्तर्गत उक्त विभूषण प्रदान गर्न लागिएको सो विज्ञप्तिमा उल्लेख छ । जापान र नेपालबीचको सम्बन्धलाई सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेकाले पाण्डेलाई सो अवार्ड दिन लागेको दूतावासको विज्ञप्तिमा छ ।  

दूतावासद्वारा जारी सो विज्ञप्तिमा सन् १९८६ मा तत्कालीन पर्यटनमन्त्री रहेका पाण्डेले जापान, नेपाल र चीनको संयुक्त आरोही टोलीलाई सगरमाथा आरोहणमा हौसला प्रदान गरेको उल्लेख छ ।

जापानले कूटनीति, अनुसन्धान र शिक्षा, औषधोपचार तथा समाज कल्याण, खेलकुद, संस्कृतिलगायतका क्षेत्रबाट द्विपक्षीय सम्बन्ध सुदृढमा योगदान पुऱ्याउने व्यक्तिलाई उक्त विभूषणबाट सम्मानित गर्दै आएको छ ।

यस पटक जापान सरकारले विभिन्न देशका विभिन्न क्षेत्रका ६० जना व्यक्तिलाई विभूषित गर्ने घोषणा गरेको हो । दक्षिण एसियाबाट भने यस पटक उक्त विभूषण पाउने पूर्वपराष्ट्रमन्त्री रमेशनाथ पाण्डे मात्रै हुन् ।

त्यसैगरी, सन् २००२ मा सूचना तथा सञ्चारमन्त्री रहँदा नेपाल भ्रमण गर्ने पहिलो जापानी नागरिक इकाई कावागुचीको तस्बिरअंकित हुलाक टिकट प्रकाशन गर्न पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।

‘सन् २००५ मा तत्कालीन परराष्ट्रमन्त्री रहेका पाण्डेले तत्कालीन युवराज पारस साह र युवराज्ञी हिमानी शाहसहित जापान भ्रमण गरेका थिए । तत्कालीन जापानी प्रधानमन्त्री ऱ्युतारो हासिमोतोसँग पनि पाण्डेको राम्रो व्यक्तिगत सम्बन्ध रहेको छ, ‘ सो विज्ञप्तिमा उल्लेख गरिएको छ  ’
यसअघि यस वर्षको वसन्त ऋतुमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ अन्तर्गत ‘अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित गरेको थियो ।

जापान सरकारले वसन्त र शरद ऋतु पारी वर्षको दुई पटक जापानसँगको सम्बन्ध सुधारमा उल्लेख्य भूमिका खेलेका विदेशी नागरिकलाई ‘अर्डर अफ दि राइजिङ सन’ अवार्ड दिने गरेको छ । जापान सरकारले अप्रिल २९ मा ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ र नोभेम्बर ३ मा ‘अटम इम्पेरियल डेकोरेसन’ विभूषणको घोषणा गर्छ । यो अवार्ड सन् १८७५ मा तत्कालीन जापानी सम्राट मेइजीले स्थापना गरेका थिए ।यही विभूषणमध्ये मेरिटका आधारमा ‘अर्डर अफ दि राइजिङ सन’ दिइने गर्छ ।

यो पनि