जेठ ०२, २०८१, बुधबार
               

यी पाँच लापरबाही, जसले भाइरसलाई हामीले भाइरल बनाइरहेका छौँ

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

पछिल्लो समय दैनिक तीन हजार पाँच समय हाराहारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको छ । काठमाडौंमा मात्रै दुई हजार पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

देशको राजधानी काठमाडौं कोरोना भाइरसका कारण असुरक्षित बन्दै गएको देख्न सकिन्छ। करिब ५० लाख मानिस बसोबास रहेको काठमाडौं उपत्यकामा दिन प्रतिदिन अत्यधिक सङ्क्रमित देखिन थाल्नुले थप चुनौती थपिएको छ । यस किसिमको नियन्त्रण बाहिर जाने गरी सङ्क्रमण बढ्नुमा आमनागरिककै लापरबाही देखिन्छ ।

जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै सङ्क्रमितको पहिचान हुन्छ। जति धेरै सङ्क्रमितको पहिचान भयो, सङ्क्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना सङ्क्रमण सर्दैन ।

तर, पछिल्ला दिनमा काठमाडौं उपत्यकामा सङ्क्रमित के कसरी दैनिक हजारभन्दा बढीको दरमा बढ्न थालेको छ भन्ने बुझ्न पछिल्लो केही दिनयता प्रकाशित समाचार अध्ययन गरे पुग्छ । विज्ञहरुको अनुभव, पत्रपत्रिकामा प्रकाशित समाचारलगायतको आधारमा जनस्तरमा देखिएका पाँच लापरबाही यस्ता छन् ।

फितलो कन्ट्याक्ट ट्रेसिङ

तीव्र रुपमा सङ्क्रमित बढ्नुको एक प्रमुख कारण फितलो कन्ट्याक्ट ट्रेसिङ । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रमितको सम्पर्कमा आएकाहरूको प्रभावकारी ढङ्गले कन्ट्याक्ट ट्रेसिङ गर्नैपर्ने हुन्छ । कन्ट्याक्ट ट्रेसिङमा परेकालाई क्वारेन्टाइनमा राख्नुपर्ने  हुन्छ । क्वारेन्टाइनमा बस्नुपर्छ भनेर धेरैले गलत विवरण दिने गरेका छन् ।

जस कारण सङ्क्रमितको सम्पर्कमा आएकाहरूको सही र मिहिन ढङ्गले अध्ययन हुन पर्नेमा सो नदेखिएको पाइन्छ । मानिसहरूले जेजे विवरण दिए पनि क्रस चेक गर्ने कुनै प्रावधान नरहेकाले फितलो कन्ट्याक्ट ट्रेसिङ देखिन्छ ।

अनुगमनविहीन होमक्वारेनटाइन

कोरोना सङ्क्रमितको लापरबाहीले झनै कोरोना आक्रमण बढिरहेको देखिन्छ । अस्पताल तथा आइसोलेसनमा बेड अभाव भएपछि घरमै बस्न सरकारले आग्रह गरेको छ । तर, अनुगमन गरिएको छैन । अनुगमन गरिए पनि प्रभावकारी भएको छैन । यसरी घरमै बस्दा सङ्क्रमितले अन्यलाई सार्ने जोखिम छ । साझा शौचालय प्रयोग गर्दा समेत कोरोना सङ्क्रमण बढेको देखिन्छ ।

होम क्वारेन्टाइनमा बसेका सङ्क्रमितहरू खुल्लमखुल्ला बाहिर निस्किने घुमफिर गर्दै आएका छन् । यस्तो अवस्थामा कोही सङ्क्रमित भएमा न स्वास्थ्य मन्त्रालय न स्थानीय निकाय न प्रहरीले नै खोजविन गर्ने गरेको देखिन्छ ।

मास्क लगाउन नजान्नु

मास्कको प्रयोग उचित रुपमा गर्न नसक्दा पनि सावधानी अपनाउँदा अपनाउँदै धेरै सङ्क्रमित भएका छन् । मास्कले हाछ्युँ र खोक्दा थुकको छिटा नाक र मुखमा प्रवेश गर्नबाट रोक्छ । अरूबाट उछिट्टिएको छिटा आफ्नो नाक तथा मुखमा जाँदैन ।

तर, मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठुलो समस्या हो । विज्ञहरू भन्छन्, ‘धेरै मानिसहरूले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन् । जसका कारण सङ्क्रमण फैलिन सक्ने खतरा रहन्छ । ’

सार्वजनिक स्थानमा मास्क लगाउने, तर बोल्ने बेलमा चिउँडोमुनि सार्ने धेरैको बानी  छ । साथीभाइ वरिपरि टेबलमा जम्मा भएर खाजा, नास्ता गर्ने बेलामा मास्क खोल्ने, यी मेरा आफन्त हुन्, साथीभाइ हुन्, यिनीहरूलाई लागेको छैन, मलाई पनि लागेको छैन भन्ने भ्रममा बाँचेका काठमाडौंबासीको कारण कोरोना भाइरस भाइरल बन्दै गएको छ। 

सार्वजनिक यातायातमा लापरबाही

लामो समयको लकडाउन र निषेधाज्ञापछि सार्वजनिक यातायात सुरु भयो । त्यसपछि झन् सङ्क्रमण दर बढ्यो । साबिकभन्दा थप ५० प्रतिशत बढी भाडा लिने तर साबिकमा भन्दा आधा मात्रै सिट क्षमतामा सार्वजनिक यातायातमा यात्रु राखी सञ्चालन गर्नु भनेकोमा सो हुन सकेन । अहिले पुरा सिट क्षमतामा सवारी चलिरहेको छ ।

क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएको, चालक तथा सहयोगीले भौतिक दूरी त परको कुरा मास्क समेत नलगाएको र स्यानिटाइजर र अन्य सुरक्षाका उपायहरू नरहेको कारण डढेलो लागे सरह सङ्क्रमित थपिन पुगेको देखिन्छ। 

 

फुटपाथ र सैलुन

कोरोनाबाट बच्ने प्रभावकारी उपाय हो सामाजिक दुरी । बजारमा भिडभाड गर्ने लापरबाही जहाँकहीँ देखिन्छ ।

न फुटपाथमा भौतिक दूरी कायम भएको देखिन्छ न सुरक्षाका कुनै उपाय नै अवलम्बन गरिएको छ । यसै गरी भौतिक दूरी कायम गर्न नसकिने अर्को क्षेत्र हो सैलुन व्यवसाय । तर जीवनभन्दा रोजगारीलाई प्राथमिकता दिनुपर्ने बाध्यताका कारण सैलुन तथा ब्युटी पार्लर व्यवसाय सञ्चालनमा आए ।

ती सञ्चालकहरूले स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएको देखिँदैन। यसका साथै होटेल, रेष्टुरेष्ट, क्याफेमा भौतिक दूरी कायम गर्न नसकिएका कारण कोरोना आक्रमण जोखिम बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि