ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअमा कोरोना पुष्टि भएसँगै जिल्ला प्रशासन कर्यालय सात दिनका लागि सिल गरिएको छ ।
प्रशासन सात दिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने प्रशासनले बताएको छ । ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराइसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईंलाई संक्रमण पुष्टि भएको हो ।
बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाईँको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाउँदा कोरोना पुष्टि भएको हो । स्वाब संकलनपछि प्रजिअ चापागाईं प्रशासन कार्यालयकै आवासकक्षमा क्वारेन्टाइन बसेका छन् ।