काठमाडौं । संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि पनि चयन भएको छ । राष्ट्रसंघको मुख्यालयमा मंगलबार राति भएको निर्वाचनमा नेपाल सन् २०२१- ०२३ सम्मको तीन वर्षे कार्यकालका लागि फेरि निर्वाचित भएको हो ।
एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् ।
मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मलावी र सेनेगल, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स छन् ।
तीनवर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ । नेपाल फेरि निर्वाचित भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन् ।
Nepal is re-elected in UN Human Right Council for second term with 150 votes. We are grateful to the friendly nations for their support. Thanks to the Nepali Missions in New York and Geneva for hard work.
— Pradeep Gyawali (@PradeepgyawaliK) October 13, 2020