असोज ०५, २०८१, शनिबार
               

धरानको कोभिड अस्पतालको अनियमिततामाथि अख्तियारको छानबिन सुरु

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले सोमबार छानविन गरेको छ । 

कोभिड अस्पताल सञ्चालनका लागि संघीय सरकार र प्रदेश सरकारले दिएको करोडौं रकममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतका पदाधिकारीहरुले कमसल औषधि उपकरण खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारको टोली कोभिड अस्पतालमा गएर स्थलगत निरीक्षण गरी छानविन प्रक्रिया अगाडि बढाएको हो ।

कोभिड अस्पतालमा खरिद गरिएका १० भेन्टिलेटरमध्ये ६ वटा बिग्रिएको र  बिरामीले उपचार नपाएको विषय बाहिर आएपछि अख्तियारको टोलीले कोभिड अस्पतालको स्थलगत निरीक्षण समेत गरेको हो । 

कोभिड अस्पताल संचालन भएपछि बिरामीको उपचारलाई प्रभावकारी नबनाएको र उपचारमा संलग्न चिकित्सक नर्स र कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री र खानपिनको व्यवस्था समेत नगरेको भन्दै प्रतिष्ठान व्यवस्थापनविरुद्ध चिकित्सकले विरोध जनाएका थिए । 

कोभिड अस्पताल संचालन गर्नु अगाडि आवश्यक भेन्टिलेटर कमसल र अन्य औषधि उपकरण खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै  अख्तियारले स्थलगत निरीक्षण गरी छानविन अगाडि बढाइएको अख्तियार इटहरीका प्रमुख प्रकास पौडेलले बताए । 

उनले शंकास्पद खरिद प्रक्रियाका सबै विवरण माग गरिएको पनि बताएका छन् । कोभिड अस्पतलामा चहिने औषधि उपकरण खरिद गर्दा चोरबाटो अबलम्बन गरी विशेष अदालतमा विचाराधिन भ्रष्टाचार मुद्दा खेपिरहेका धरानका व्यवसायी चेतन अग्रवालसँग प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मिलेमतो गरी कमसल उपकरण खरिद गरेको खुलासा भएपछि अख्तियारको टोलीले स्थलगत छानविन थालेको बताइएको छ । 

कोभिड अस्पतालमा आवश्यक औषधि उपकरण खरिद गर्दा प्रतिष्ठानका रजिष्ट्रार र निर्देशकको सिरफारिसका आधारमा मात्र उपकुलपतिले स्वीकृत गरी टेन्डर गरी खरिद गर्नुपर्ने प्रावधान छ । तर, गिरीले प्रक्रिया मिचेर आफूखुसी औषधि उपकरण खरिद गरेर कोभिड अस्पतालमा कार्यरत चिकित्सकलाई समेत विभिन्न प्रकारका दबाब दिएपछि चिकित्सक समेत असन्तुष्ट बनेका थिए ।

उपकुलपति गिरीकै अवैध क्रियाकलापका कारण कोभिड अस्पताल प्रमुख कृष्णा पोखरेलले राजीनामा दिएकी छिन् । प्रतिष्ठानको खरिद शाखा प्रमुख विष्णु चापागाईलाई औषधि उपकरण खरिदमा असहयोग गरेको भन्दै गिरीले उनलाई कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकै बेला अन्य शाखामा सरुवा गरेका छन् । 

प्रतिष्ठानमा औषधि खरिद गर्ने अधिकार रजिष्ट्रार र अस्पताल निर्देशकलाई मात्र हुने भए पनि उपकुलपति डा. गिरीले दुवैजनाको अधिकार खोसेर आफै कोभिड अस्पतालमा चाहिने औषधि उपकरण खरिद गरेका छन् । 

उपकुलपति गिरीले प्रतिष्ठानका रजिष्ट्रार मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको समेत अधिकार खोसेका छन् । साहले प्रतिष्ठानको नियमावलीले दिएको अधिकार नै उपकुलपति गिरीले खोसेर अवैध काम गरेको बताएका छन् । 

उपकुलपति गिरी भने कोरोनाको महामारीमा समेत कार्यालय नबसी काठमाडौं बस्ने गरेका छन् । गिरी नियमित कार्यालयमा नबसेकै कारण प्रतिष्ठान संचालनमा समेत समस्या परेको छ । 

गिरी नियमित कार्यालयमा नबसेकै कारण चिकित्सक, नर्स र कर्मचारीको बढुवा प्रक्रिया समेत रोकिएको र वृद्धि भएको तलब समेत नपाएको प्रतिष्ठानको मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले बताए। कार्यालयमा नियमित नबसेको र आर्थिक अनियमितताका विषयमा  पटक–पटक फोन सम्पर्क गर्दा गिरीले फोन उठाएनन् । 


कस्तो लाग्यो ?

यो पनि