असोज ०५, २०८१, शनिबार
               

सुन तस्कारी गर्ने भारतीय नागरिक सुनिल सोनीविरुद्ध अढाई अर्बको मुद्दा दायर

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुनको अवैध ओसारपसार गरेर राजस्व चुहावट गरेको भन्दै भारतीय नागरिक सुनिल सोनी र अमित परियारविरुद्ध २ अर्ब ३९ करोडको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले सोमबार उच्च अदालत तुलसीपुरमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

सोनी भारतीय नागरिक हुन् । तर, उनले नेपाली नागरिकतासमेत लिइसकेको अनुसन्धानबाट खुलेको छ । उनले सुनील सुनारको नाममा नेपाली नागरिकता लिएको फेला परेको छ । अमित परियारले सोनीलाई अवैध कारोबारमा सघाउने गर्थे ।

तीन महिनाअघि विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल चौराहाबाट सोनीलाई नियन्त्रणमा लिएको थियो । उनको कारभित्र बोरामा लुकाइछिपाइ राखेको नगदसहित उनी पक्राउ परेका थिए ।

विभागले तीन महिनासम्म गरेको अनुसन्धानमा उनले सुनचाँदी तस्करी गरिरहेको खुलेको हो । सुन तस्करीकै लागि उनले रुपन्देही सिद्धार्थनगरमा सोनी ज्वेलर्ससमेत खोलेका थिए । उनले सोनी गोल्ड एण्ड सिल्भर प्रालि भन्ने अर्को पसल समेत खोलेका थिए ।

राजस्वका अधिकारीहरुका अनुसार उनले आफ्नो कारोबारलाई वैध बनाउन सुनचाँदी पसल खोलेका थिए । ती पसलहरुबाट गरगहना बिक्री गर्ने नाममा सुन तस्करी हुने गर्थ्यो ।

सोनीले सुन चाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गरेको अनुसन्धानबाट खुलेको थियो । कारोबारस्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर, बैंक स्टेटमेन्ट र मोबाइलबाट प्राप्त बैंक भौचरका आधारमा विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको लगायतका प्रमाणबाट उनले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरेको खुलेको हो ।

सोनीले तस्करीबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरुलाई भुक्तानी लिने र दिने गरेको अनुसन्धानमा खुलेको छ । उनीविरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ बमोजिम मुद्दा अघि बढ्ने भएको छ ।

सोनीले भन्सार चोरी निकासी पैठारीतर्फ २ अर्ब २३ करोड र आयकरतर्फ १६ करोड ४१ लाख राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि