जेठ ०६, २०८१, आइतबार
               

मापसे जाँचसहित दैनिक हुनेछ ट्राफिक प्रहरीको आकस्मिक चेकिङ

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले दसैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ ।

सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणलाई केन्द्रमा राखेर योजना बनाइएको छ ।

यात्राको क्रममा कसैलाई कुनै किसिमको समस्या भएमा १०३ मा फोन गर्न महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले सबैमा आग्रह गरेका छन् । 

ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओराल्दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन आफूहरु चनाखो बनेको ढकालले बताए ।

आकस्मिक चेकिङ

महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँच (आकस्मिक चेकिङ) को व्यवस्था गर्ने भएको छ ।

उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ ।

सादा पोसाकमा प्रहरी

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी थालिएको महाशाखाको भनाइ छ ।

प्रविधिबाट निगरानी

लामो दुरीका भाडाका सवारीसाधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ । यसका लागि ट्राफिक कम्युनिकेशन एपलाई प्रयोगमा ल्याइने ढकालले बताए ।

उनका अनुसार टिकट काउन्टर तथा सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराइनेछ । मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जिकज्याक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर सीसी टिभीमार्फत निगरानी गरिने उनले जनाए ।

बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जनाएको छ ।

थप जनशक्ति

महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरु तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ ।

एसएसपी ढकालका अनुसार १७२ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ९०० जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने प्रवक्ता यादवले बताए ।

यात्रु सहायता कक्ष

काठमाडौं उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइने महाशाखाले जनाएको छ । 

उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

यसैबीच, ट्राफिक प्रहरीले चाडपर्वको मौका छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्दा चलाउने जनाएको छ । 

महाशाखाका एसएसपी ढकालले चोक–चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर गाडीमाथि निगरानी बढाइने बताए ।

ुकोभिड १९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ,ु उनले भने ।


कस्तो लाग्यो ?

यो पनि